अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ भोजुङ्गेका पहिरोको जोखिममा रहेका २१ घरधुरीका ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सन्धिखर्क नगरपालिका, नेपाल पत्रकार महासंघ र रेडक्रस सोसाइटीको समन्वयमा उनीहरूलाई खाँचीकोटको चन्द्रप्रभा नजिक रहेको बहुउद्देश्य भवनमा सारिएको हो।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख जिल्ला अधिकारी विशाल खनालको नेतृत्वमा टोली त्यहाँ पुगेको थियो। कार्यपालिका सदस्य बसन्त नेपालीका अनुसार पीडित परिवारलाई बस्नका लागि रेडक्रस र प्रशासनले कम्मल तथा भाँडाकुँडाको व्यवस्था गरेका छन् भने नगरपालिकाको सहयोगमा खाद्यान्न लगायतका सामग्री उपलब्ध गराइएको छ।
हिजो सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पीडितहरूलाई बहुउद्देश्य भवनमा सार्ने निर्णय गरेको थियो।
तस्बिर: रुद्रमणि भुसाल

