पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल: २४सै घण्टा विशेषज्ञ सेवाको ११ बुँदे माग
सुन्दरहरैंचा, असोज २९ — स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, गोठगाउँलाई सुविधा सम्पन्न तथा सर्वसाधारण नागरिकमैत्री स्वास्थ्य संस्था बनाउन ११ बुँदे मागपत्र उपकुलपति प्रा. डा. सुजन बाबु मरहट्टासमक्ष पेश गरेको छ।
समाजका प्रतिनिधिहरूले अस्पतालमा आवश्यक स्वास्थ्य सेवा, उपकरण, जनशक्ति तथा व्यवस्थापन सुधार गरी २४सै घण्टा विशेषज्ञ सेवा सञ्चालन गर्न आग्रह गरेका छन्। उनीहरूले अस्पतालमा सिटी स्क्यान, एनआईसीयू, पीआईसीयू, डिजिटल एक्स–रे, एन्डोस्कोपी, गुणस्तरीय प्रयोगशाला सेवा तथा प्रसूति सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक बजेट र व्यवस्थापनको माग गरेका छन्।
मागपत्रमा अस्पतालमा चिकित्सक तथा कर्मचारीको पर्याप्त व्यवस्थापन, आपत्कालीन सेवा सुदृढीकरण, डायलाइसिस सेवा विस्तार, विशेषज्ञ चिकित्सकको उपलब्धता तथा बिरामीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। साथै, विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेका अस्पताल तथा मेडिकल शिक्षासम्बन्धी संरचनाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशासनिक तथा आर्थिक पारदर्शिता बढाउनुपर्ने सुझाव पनि दिइएको छ।
भेटका क्रममा उपकुलपति मरहट्टाले अस्पतालको स्तरोन्नति तथा सेवा विस्तारका लागि विश्वविद्यालयको भावी योजना प्रस्तुत गर्दै नागरिकका जायज मागहरू क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्वतन्त्र नागरिक समाजले जनाएको छ।
समाजले पूर्वाञ्चल विश्वविद्यालयबाट आसपासका नागरिकले कम खर्चमा गुणस्तरीय उपचार सेवा प्राप्त गर्नु आफ्नो अधिकार भएको उल्लेख गर्दै योजना कार्यान्वयनका लागि निरन्तर खबरदारी र दबाबमूलक भूमिका निर्वाह गर्ने जनाएको छ।
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका संयोजक चिरञ्जीवी शिवाकोटीका अनुसार सुन्दरहरैंचा तथा आसपासका नागरिकको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र आवश्यक सुविधा विस्तारका लागि समाजले आगामी दिनमा पनि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गर्नेछ।
(समाचारदाता)
सुन्दरहरैंचा, मोरङ।

